झटपट झोलाः आपत्कालीन सुरक्षाको साथी
नेपाल जस्तो प्राकृतिक प्रकोप र जोखिमयुक्त देशमा बस्ने हामी सबैका लागि आपत्कालीन अवस्थामा तयार रहनु अति आवश्यक छ । यस्तो अवस्थामा हामीलाई झटपट झोलाले निकै सहयोग पु¥याउन सक्छ ।
के हो झटपट झोला ?
झटपट झोला भनेको एक प्रकारको आपत्कालीन किट हो जसमा प्राकृतिक विपत्ति वा अन्य कुनै आपत्कालीन अवस्थामा हामीलाई आवश्यक पर्ने आधारभूत सामग्रीहरु राखिन्छ । यो झोला हामीलाई सुरक्षित रहन र आफ्नो परिवारको हेरचाह गर्न मद्दत गर्नको लागि तयार गरिएको हुन्छ ।
झटपट झोला कस्तो हुनुपर्छ ?
- यो सजिलै बोक्न सकिने हल्का र सानो हुनुपर्छ ।
- यसमा भएका सामानहरु पानीबाट सुरक्षित रहनुपर्छ ।
- यो च्यातिने वा फुट्ने खालको हुनु हुँदैन ।
- यसमा भएका सामानहरु सजिलै निकाल्न सकिने हुनुपर्छ ।
झटपट झोलामा के के सामान राख्ने ?
झटपट झोलामा राखिने सामग्री व्यक्तिको आवश्यकता र जीवनशैली अनुसार फरक पर्छ । कसैलाई औषधी महत्वपूर्ण हुन्छ भने कसैलाई पावर भएको चस्मा । यी बाहेक सामान्यतया झटपट झोलामा निम्न सामग्रीहरु राख्न सकिन्छ ।
- खानेकुराः सातु, भुटेको मकै, चिउरा, दालमोठ, सुख्खा फलफूल, कम्तीमा ३ दिनसम्मका लागि पुग्ने खानेकुरा र पानी ।
- औषधिः नियमित रुपमा खाने औषधिहरु, सिटामोल, जीवनजल, एन्टिसेप्टिक, ब्यान्डेज, आदि ।
- लत्ताकपडाः न्यानो लुगा, पानी पर्दा लगाउने ज्याकेट, अतिरिक्त फेर्ने थोरै लुगा आदि ।
- कागजातहरुः नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपत्र, चिकित्सकको प्रमाणपत्र, बिमा पोलिसी, बैंक खाताको विवरण आदि ।
- टर्चलाइट, ब्याट्री, मोम बत्ती, लाइटर आदि ।
- मोबाइल चार्जर, सानो रेडियो आदि ।
- चक्कु, नक्सा, परिचय पत्र, पैसा, महत्वपूर्ण सम्पर्क नम्बरहरू आदि ।
झटपट झोला किन बनाउनु पर्छ ?
- आपत्कालीन अवस्थामा झटपट झोला हाम्रो सुरक्षाको प्रत्याभूति हो ।
- आपत्कालीन अवस्थामा सामान खोज्न समय लाग्दैन ।
- हामी आफै तयार हुनुले आपत्कालीन अवस्थामा मनोबल बढाउँछ ।
- यसले हाम्रो परिवारको पनि सुरक्षा गर्छ ।
झटपट झोला कसरी बनाउने ?
- एउटा बलियो झोला छान्नुहोस् जसलाई सजिलै बोक्न सकियोस् ।
- माथि भनिएका सबै सामानहरु झोलामा राख्ने । पानी र औषधि नियमित रुपमा फेरबदल गर्नुपर्छ ।
- झोलालाई सधैँ तयार अवस्थामा राख्नुपर्छ । यसलाई बालबालिकाको पहुँचभन्दा पर बाहिर सुरक्षित ठाउँमा राख्नुपर्छ ।
- परिवारको सबै सदस्यलाई झटपट झोलाको बारेमा जानकारी दिनुपर्छ । उनीहरुलाई यसको प्रयोग कसरी गर्ने भनेर पनि सिकाउनुपर्छ ।
झटपट झोलालाई घर वा अफिसको कुन स्थानमा राख्ने ?
झटपट झोलालाई हामीले सजिलै पहुँच गर्न सक्ने ठाउँमा राख्नुपर्छ । उदाहरणको लागि, मुख्य ढोकाको नजिक, बेड रुममा वा कारमा ।
झटपट झोलाको महत्व र फाइदाहरु के के हुन् ?
आपत्कालीन अवस्थामा हामीलाई सुरक्षित रहन मद्दत गर्छ । हामीलाई कुनै पनि बेला आइपर्ने आपत्कालीन अवस्थाको लागि तयारी अवस्थामा रहन मद्दत गर्छ। झटपट झोला तयार राखिएको छ भन्ने कुराले हाम्रो मनमा एक प्रकारको शान्ति प्रदान गर्छ ।
झटपट झोलामा राखिएका सामानहरुलाई कसरी हेरविचार गर्ने ?
समय समयमा झोलामा भएका सामानहरुको म्याद सकिएको छ कि छैन भनेर जाँच गर्ने । जरुरी परेमा सामानहरु थपघट गर्ने वा परिवर्तन गर्ने । झोला र झोलाको सामानहरुलाई सफा राख्ने । झोलामा राखिएका लुगा जुत्तालाई बेलाबेलामा सफा गर्ने र घाममा सुकाउने गर्नुपर्छ।
झटपट झोला बनाउनु र यसलाई तयार राख्नु एकदमै महत्वपूर्ण छ । यसले हामीलाई र हाम्रो परिवारलाई कुनै पनि प्रकारको आपत्कालीन अवस्थाबाट जोगाउन मद्दत गर्नेछ । त्यसैले आजैदेखि आफ्नो झटपट झोला तयार पारौँ र आफू र आफ्नो परिवारलाई सुरक्षित राखौँ । यस झोलाले उद्धार नआउन्जेल सम्मका लागि ज्यान जोगाउन सहयोग गर्छ केही मात्रामा भए पनि सान्त्वना र सुरक्षाको अनुभूति गर्न सकिन्छ ।
तयारी अवस्थाको झटपट झोलाको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
अर्थक्वेक सेफ्टी शोलुसन्स
भैसेपाटी २५ ललितपुर, नेपाल
इमेल: ess@eqsafety.com.np
फोन: 01-5590664
